Showing posts with label लेख / जिवनी. Show all posts
Showing posts with label लेख / जिवनी. Show all posts

Wednesday, December 28, 2011

यस्ता थिए चे,

"मेरो नाम चे ग्वेभारा हो । मलाई मार्नुभन्दा बचाउनु तिमीहरूका लागि महत्त्वपूर्ण हुनेछ...। मलाई थाहा छ, तिमीहरू मलाई मार्नै आएका हौ, त्यसैले हे कायर हो, मलाई गोली ठोक । तर, तिमीहरू केवल एउटा व्यक्तिलाई मार्न लागिरहेछौ ...।" आफ्नो हत्याअघि चे ग्वेभाराका मुखबाट निस्केका वाणी थिए, यी ।
..........
....."तपाईंको ट्याक्सीमा टाँसेको यो स्टिकर कसको हो ?" एक जना युवा ट्याक्सी चालक यस प्रश्नमा एकछिन अकमकाउँछन् । सामुन्ने सिसामा टाँसेको त्यस त्यसतस्वीरतिर हल्का आँखा घुमाउँछन् । "नाम त यी त्यहीँ लेखिएको छ नि, पढ्नोस् !" उनी यस संवाददातालाई आग्रह गर्छन् । "यी व्यक्तिका बारेमा तपाईंलाई के थाहा छ ?" संवाददाताले फेरि प्रश्न गर्छ । चालक ट्याक्सी रोकिएको अवसरको पाइदा उठाउँदै खल्तीबाट चुरोटको बट्टा निकाल्छन् र संवाददातातिर तेस्र्याउँछन्, "तान्ने हो सर ?" नकारात्मक जवाफ पाएपछि उनी पुनः कुराको सिलसिला जोड्छन्, "क्रान्तिकारी हो भन्ने सुनेको छु, अरू थाहा छैन सर !
...
"अहिले चे ग्वेभारा को तस्वीर अंकित स्टिकरहरू मात्र होइन, टिसर्ट, पाइन्ट, टोपी, पर्सदेखि की-चेनसम्म बजारमा छ्यापछ्याप्ती छन् । युवा जमातमा विशेष प्रचलित यी सामग्रीहरू प्रयोग गर्नेहरूमा शिक्षित र अशिक्षित दुवैथरी छन् । धेरैलाई थाहा छैन, यस व्यक्तिले के त्यस्तो काम गरेको थियो तर पनि उसका तस्बिर यत्रतत्र प्रयोग भइरहेछन् ।
...
चेको तस्बिर अंकित टिसर्ट, टोपी आदिको नेपालमा औसत कारोबार छ । काठमाडौँमा एक सयभन्दा धेरै व्यवसायीहरूले चे अंकित ती वस्तुहरूको व्यापार गररिहेका छन् । विभिन्न मुलुक र नेपालमै बनेका टिसर्टलगायतका सामग्रीहरू आयात गरेर तिनमा चेका तस्बिर छाप्ने वा कुद्ने काम नेपालमा हुन्छ । चेसँग जोडिएको कारोबारले औसत किसिमको रोजगारसमेत पैदा गरेको सम्बद्ध व्यापारीहरूको कथन छ ।
...
नयाँ बसपार्क, गोंगबुमा पश्चिम जाने बस कुररिहेका २४ वर्षिय तिलक जोशीले सेतो टिसर्ट लगाएका छन्, जसको अग्रभागमा चेको कालो रङको छापावाल तस्बिर छ । जाडोयाम विस्तारै छिप्पिन लागेकाले उनले टिसर्टमाथि ज्याकेट पनि भिरेका छन् तर त्यसको फास्नर खुलै भएकाले चेको दाह्रीवाल तस्बिर प्रस्टै देख्न सकिन्छ । "यो टिसर्टको मान्छेबारे तपाईंलाई केही थाहा छ ?" उनकै नजिकमा पुगेर एकछिनको भलाकुसारीपश्चात् सोधिएको प्रश्नमा उनको उत्तर थियो, "खै थाहा छैन, भाइले किनिदिएकाले लगाएको हुँ ।" उनी यसबारेमा लामो कुरा गर्ने मुडमा थिएनन् । बस छुट्ला भन्ने पिरलोले होला कुरालाई त्यति गम्भीरतापूर्वक लिएनन् पनि उनले ।
...
ठमेलका टिसर्ट बिक्रेता सुमन मुननकर्मीको बुझाइ पनि जोशीको भन्दा त्यति फरक छैन । "कम्युनिस्ट मान्छे हो भन्ने सुनेको छु तर धेरै थाहा छैन," उनी भन्छन्, "हामी व्यापारीले जे बिक्छ, त्यही बेच्ने हो ।" चेका बारेमा खासै जानकारी नभए पनि यस्ता टिसर्टहरू पाकाहरूले नलगाउने र उमेरदारले मात्र लगाउने भन्ने मुननकर्मीको जानकारी छ ।
...
तर, प्रकाश सिवाकोटी र बद्रीप्रसाद तिमिल्सिनाको एक दशक लामो व्यापार अनुभवले भने उपभोक्ताहरू चे ग्वेभारालाई बुझेरै यस्ता सामग्रीहरू प्रयोग गर्छन् भन्ने ठम्याइ छ । दुईदेखि चार सय रुपियाँसम्म पर्ने यस्ता टिसर्ट हुन् या त्यति नै मूल्य पर्ने टोपी हुन्, तिनको प्रयोग गर्ने अधिकांश युवा तथा शिक्षित भएकाले चेका बारेमा बुझेका सिवाकोटी र तिमिल्सिनाको भनाइ छ ।
...
चेका तस्बिरप्रति आकषिर्त हुनेहरू दुईथरी छन् । एकथरी राजनीतिक दलको जुलुसमा मिसिएर नारा लगाउने जनताजस्ता छन्, जो केही नबुझी लहैलहैमा चेलाई अगाँलिरहेका छन् । अर्कोथरी राजनीतिक दलका कार्यकर्ता छन्, जो बुझेर निष्ठाका साथ चेलाई प्रयोग गररिहेछन् ।
...
१९५३ मा अर्जेन्टिनाको रोजारयिोमा जन्मेका चे ग्वेभारा कुशल चिकित्सक थिए । आफ्नो अध्ययन सकेर पेरुको एक अस्पतालमा चिकित्सकका रूपमा कार्यरत रहँदा चेले त्यहाँ धेरै कुष्ठरोगीहरू आर्थिक अभावका कारण उपचार गराउन असमर्थ रहेको देखे । यहीँबाट उनमा कम्युनिस्ट विचारधारा अंकुरति भएको हो । सन् १९५५ मा मेक्सिको पलायन भई एउटा अस्पतालमा काम गररिहेका बखत उनको भेट क्युबाका प्रसिद्ध क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोसँग भयो । त्यस भेटले उनीहरूको विचारधारालाई आपसमा संयोजन गर्‍यो । फलतः क्यास्ट्रोद्वारा सन् १९५६ मा गठित ' रेभल्युलुसनरी मुभमेन्ट'मा चेलाई एक चिकित्सकका रूपमा आबद्ध गरियो । यसै संस्थाबाट चे औपचारकि रूपमा क्युबाबाहेकका ल्याटिन अमेरकिी देशहरूको स्वतन्त्रता र कम्युनिस्ट शासन स्थापनाका लागि प्रतिबद्ध भएर लागे । एक समय उनी क्युबाको मन्त्रीसमेत हुन पुगेका थिए । गुरिल्ला युद्धका 'मास्टर माइन्ड' मानिने उनले क्युबाको मन्त्री पद र नागरकितासमेत त्यागेर उरुग्वे, ब्राजिल, पाराग्वे, अर्जेन्टिना, बोलिभियालगायतका देशहरूमा कम्युनिस्ट शासन स्थापनाका लागि गुरिल्ला युद्ध सञ्चालन गर्दै हिँडे । ३९ वर्षको उमेरमा बोलिभियाको एउटा जंगलमा अमेरिकी गुप्तचर संस्थाद्वारा उनको हत्या गरियो ।
....
ठमेलमा विगत एक दशकदेखि सौरभ म्युजिक चलाएर बसेका छन्, कपिल महर्जन । उनको पसलमा चेका अधिकांश फिल्महरू किन्ने ग्राहक विदेशी नै हुन्छन् । उनका विचारमा नेपाली युवा पुस्ताले चेसम्बन्धी फिल्महरूमा मनोरञ्जन लिने गरेका छन् । "तर, चेका बारेमा बुझेका र बुझ्न चाहनेले मात्र यस्ता फिल्म हेर्छन्," उनी भन्छन्, "आममानिसले चेका फिल्म हेर्ने रुचि देखाएको मलाई जानकारी छैन ।" कपिललाई चेका बारेमा अरू बिक्रेताहरूको तुलनामा धेरै जानकारी छ । ल्याटिन अमेरिकी मुलुकमा कम्युनिज्म स्थापनाका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए भन्ने पनि उनले बुझेका छन् । दी मोटरसाइकल डायरी, चे गुरिल्ला र ई एल अर्जेन्टिनो भन्ने फिल्महरू पनि उनले हेरेका छन् । पछिल्ला दुई फिल्महरू स्पेनिस भाषामा भएकाले बुझ्न अलि कठिन छ । तर, चे भाग-१ र भाग-२ ले भने उनका बारेमा बुझ्न राम्रो सहयोग गर्छन् ।
...
चे ग्वेभाराका तस्बिर अंकित सामग्रीहरू प्रयोग गर्ने ग्राहकका बारेमा प्रकाशले पनि धेरथोर बुझेका छन् । आफ्नो पसलबाट झिकेर चेको तस्बिर अंकित टिसर्ट लगाउँदै उनले भने, "यी कम्युनिस्ट हुन् । त्यसैले यस विचारधारामा विश्वास राख्नेहरूले नै यस्ता कुरा बढी प्रयोग गर्छन् ।" यो बुझ्नेहरूको कुरा भयो ।
...
युवा ट्याक्सी चालक र बस कुररिहेका तिलक जोशीजस्ता कयौँ मानिसहरू तस्बिरको इतिहास नबुझी कुनै टिसर्ट, क्याप, ज्याकेट, ब्याग या स्टिकरहरूको प्रयोग गररिहेछन् । कलंकी चोकमा भेटिएका एक युवाको कुराले यसलाई पुस्ट्याइँ गर्छन् । उनी चेको तस्बिर सजिएको कालो क्याप ढल्काएर हिँडिरहेका थिए । औपचारकि अभिवादनपश्चात् उनलाई टोपीका व्यक्तिबारे जिज्ञासा राखियो । उनको उत्तर थियो, "यो अंग्रेजी गीत गाउने कुनै गायक हुनुपर्छ," उनले शिरको टोपी हातमा नचाउँदै भने, "नाम, थरै त कहाँ थाहा हुन्छ, पसलमा छान्दा यही मन पर्‍यो, किनेर लगाएँ ।
...
"जानेर होस् या लहैलहमा, विगत केही वर्षयता चे ग्वेभारा आफ्नो जन्मस्थलभन्दा हजारौँ मिल टाढा नेपालमा पनि प्रसिद्ध छन् । चेका बारेमा थाहा पाउनेले उनको बहादुरीपूर्ण कार्य र निडर व्यक्तित्वको सम्मानस्वरूप यस्ता तस्बिरहरू प्रयोग गररिहेका छन् । उनका बारेमा पटक्कै थाहा नपाएकाहरू पनि तस्बिरमा देखिने जोसिलोपन र आकर्षणले तानिएर उनलाई स्वीकारेका छन् ।
...
यस्ता थिए चे,
"मेरो नाम चे ग्वेभारा हो । मलाई मार्नुभन्दा बचाउनु तिमीहरूका लागि महत्त्वपूर्ण हुनेछ...। मलाई थाहा छ, तिमीहरू मलाई मार्नै आएका हौ, त्यसैले हे कायर हो, मलाई गोली ठोक । तर, तिमीहरू केवल एउटा व्यक्तिलाई मार्न लागिरहेछौ ...।" आफ्नो हत्याअघि चे ग्वेभाराका मुखबाट निस्केका वाणी थिए, यी । चेको घाँटीभन्दा मुनि गोली हान्नु भन्ने आदेश थियो सेनालाई । र, ९ अक्टोबर १९६७ को अपराह्न १ बजेर १० मिनेट जाँदा उनलाई चारपटक गोली हानेर बोलिभियाको भ्नालेग्रान्दे जंगलमा हत्या गरएिको थियो ।
...
प्रसिद्ध अंग्रेजी पत्रिका टाइमले सन् १९६०, अगस्त महिनाको अंकमा आवरण चित्रसहित चेका बारेमा छाप्यो । यसमा उनलाई फिडेल क्यास्ट्रोको दिमाग भनिएको छ । नायक गुरिल्लाका नामले प्रसिद्ध चेका तस्बिरहरू फेसन फोटोग्राफर अलबर्टो डियाज गुएरेले त्यही वर्ष खिचेर उनको क्रान्तिकारी छविलाई अझ लोकप्रिय बनाउन मद्दत गरे ।
...
टाइमले सन् २००० मा चेलाई बीसौँ शताब्दीका एक सय जना प्रभावशाली व्यक्तिमध्ये घोषणा गर्‍यो । पत्रिकाले लेखेको थियो, "यद्यपि, विश्वमा आज साम्यवादको ज्वाला मत्थर भइसक्यो तर चे विद्रोहको जोडदार प्रतीक हुन् र क्रान्तिका लागि एक उदाहरणीय उत्साह बनेका छन् ।
...
"यस धरतीबाटै गरिबी उन्मूलन र गरिबको उत्थानका लागि कम्मर कसेर लागेका चेलाई कहिलेकाहीँ प्राचीनकालका अलेक्जेन्डर महान्को दुस्साहससँग पनि तुलना गरिन्छ । १४ जून १९२८ मा अर्जेन्टिनाको रोजारयिोमा एक मध्यमवर्गीय परविारमा पाँचमध्ये जेठो सन्तानका रूपमा उनको जन्म भएको थियो । उनले सन् १९५३ मा चिकित्सा विज्ञानमा डिग्री हासिल गरी चिकित्सकका रूपमा विभिन्न दक्षिण अमेरिकी मुलुकहरूको भ्रमण गरे । पेरुको सान पाब्लो कुष्ठरोग अस्पतालमा काम गर्दा उनले असहाय धेरै रोगीहरूलाई भेटे । त्यस अस्पतालमा उपचारका लागि खर्च नभएका कारण तिनका आमाबाबु आफ्ना सन्तानहरू मृत्युका मुखमा गएको टुलुटुलु हेर्न बाध्य थिए । त्यस घटनाले चेलाई एउटा क्रान्तिकारी व्यक्तित्व बनाउन भूमिका खेल्यो ।
...
सन् १९५५ मा क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोसँग चेको मेक्सिकोमा भेट भयो । चे त्यहाँ पलायन भई चिकित्सा संकायमा कार्यरत थिए । यही भेटपछि चे र क्यास्ट्रोबीच सहकार्य भयो । क्युबाका तत्कालीन तानाशाह फुलजेन्सियो बाटिस्टाविरुद्ध जेहाद छेडियो र सन् १९५९ मा अपदस्थ गरियो । जनवरी ७ का दिन क्युबामा अन्तरिम सरकार गठन गरियो र क्यास्ट्रो नयाँ नेता भए । सन् १९६० मा उनले चेकोस्लोभाकिया, चीन तथा सोभियत संघको भ्रमण गरे र गुरिल्ला युद्ध र क्युबाली क्रान्तियुद्धका सम्झनाहरू नामक पुस्तकहरू लेखे । सन् १९६१ मा चेलाई त्यहाँको नागरकिता प्रदान गर्दै क्यास्ट्रो सरकारले उद्योगमन्त्री तथा प्रमुख अर्थविद्का रूपमा नियुक्त गर्‍यो ।
...
उनले सन् १९६३ र ६४ मा संयुक्त महासभामा सम्बोधन गरे, जुन सम्बोधन अत्यन्तै चर्चित भयो । उनले आफ्नो भाषणमा भनेका थिए, "सशस्त्र संघर्ष नै समाजवाद प्राप्तिको एउटा निश्चित बाटो हो ।" सन् १९६५ मा क्युबाको मन्त्री पद मात्र होइन, त्यहाँको नागरकिता नै त्यागेर विभिन्न ल्याटिनी मुलुकहरूको भ्रमणमा निस्किए । ९ डिसेम्बर १९६७ मा बोलिभियाको एक जंगलमा सैनिकद्वारा उनको हत्या भयो ।
...
__@@___@@ ___^^__^^___ @@___@@__

"जीवन र कला">>; शीर्षक अन्तर्गत "कान्तिपुर दैनिक" पत्रिकामा ठ्याक्कै २ बर्ष पहिले नोभेम्बर-३०, २००९ मा प्रकाशित "चे ग्वेभारा"को जिवनी यहाँ पेष्ट गर्न मन लाग्यो । यो प्रकाशनको समयमा म इराकको राजधानी बगदादमा कार्यरत थिए । यो लेख/जिवनी पत्रकार "सुशील थापा" द्वारा लेखन/संकलन गरिएको थियो । मलाई विश्वाश छ यो लेख अध्ययनले धेरै कम्युनिज्म बिचारधाराका मित्रहरुलाई छुट्टै किसिमको नमिठो खाले आनन्दित तुल्याउनेछ । र, धेरै कुराहरु बुझ्नमा मद्धत गर्नेछ ।
...............................................................................................             ...................................................                - अर्जुन दुङ्मेन